अलपत्र १६६ नेपालीलाई नेपाल ल्याउने विषयमा छलफल हुदै

दार्चुला, चैत १४ गते :   लकडाउनका कारण भारतको धारचुलामा अपलत्र परेका १६६ जना नेपालीहरुलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ । सिमानाकामा अलपत्र परेका उनीहरुलाई नेपाल ल्याउने विषयमा महाकाली नगरपालिमा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्की, नगरप्रमुख हंसराज भट्ट, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, सुरक्षा निकायका प्रमुख लगायत पत्रकारहरु बिच छलफल भइरहेको महकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले जानकारी दिए ।

सरकारले सिमानाका बन्द तथा नेपाल लकडाउन गरेपछि भारतमा सयौं नेपाली अलपत्र परेका छन् । भारतको धारचुलामा नौगाड गाउँपालिकाका ७२ जना, मार्मा गाउँपालिकाका ४८ जना, महाकाली नगरपालिकाका ६ जना, लेकम गाउँपालिकाका २ जना, मालिकार्जुन गाउँपालिकाका १ जना रहेका छन्  । यस्तै बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकाका १५ जना, बझाङ जिल्लाको बुङ्गल नगरपालिकाका ४ जना, बाजुरा बूढीनन्दा नगरपालिकाका २ जना, कैलाली जिल्ला लम्कीचुहा नगरपालिकाका ४ जना, बाकें जिल्ला कोहलपुरका ३ जना र जाजँरकोट कुँसे गाउँपालिकाका ९ जना गरी १६६ जना भारतको धारचुलामा तीन दिन देखी अलपत्र परेका छन् ।

अलपत्र परेका उनीहरु अहिले सम्म नेपाल आउन सकेका छैन्न । भारतमा पनि लकडाउन जारी भएकाले दुई, तीन दिन देखी खुला आकाश मुनी बस्न बाध्य भएको नौगाड ४ सिप्टीका पदम सिंह ठगुन्नाले बताउनु भयो । भारतीय एसएसबीले अहिले खाना खुवाइरहेको छ, बाकी समय सडकमै दिन काट्नु परेको उहाको दुखेसो छ । उनले दुखेसो पोख्दै भने सयौको भिडभाडमा बस्दा बस्दै झन रोगको सिकार हुने चिन्ता लागेकोे छ । सिमानाकामा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने विषयमा छलफल भइरहेको नगरप्रमुख हंसराज भट्टले बताए । 

Comments