सीमामा अलपत्र परेका दुई सय बढी नेपालीको उद्धार

दार्चुला, चैत १४ गते :   भारतको धारचुला नाकामा अलपत्र परेका नेपालीहरुको तीन दिनपछि उद्धार गरिएको छ । कामको शिलशिलामा भारतका विभिन्न ठाउँबाट आएर बुधवार दिउँसोदेखि अलपत्र परेका ७ जिल्लाका २ सय ६ जनालाई शुक्रवार बेलुकी उद्धार गरिएको छ । तीन दिन देखी भारतमा अलपत्र परेका नेपालीहरुलाई नेपाली र भारतीय अधिकारीबिचको समन्वयमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

 

बुधवार दिउँसो उनीहरु भारतको धारचुलामा आइपुगेका थिए । सरकारले गरेको लकडाउनका कारणका उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । उद्धार गरिएका नेपालको दार्चुला जिल्लाका १ सय ६८ जना, बैतडीका १५, जाजरकोटका ९, बाँके कोहोलपुरका ४, बाजुराका २,  कैलालीका ४ र बझाङका ४ गरी २ सय ६ जना नेपाली कामदार रहेका छन् ।

 
तीन दिन देखी भारतको धारचुलामा अलपत्र परेका उनीहरुलाई नेपाल भित्र्याउने विषयमा शुक्रबार जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीको अध्यक्षतामा महाकाली नगरपालिकामा बैठक समेत बसेको होे । बैठकमा महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । लामो छलफलपछि उनीहरुको सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्ने भएपछि उद्धार गर्ने निर्णय गरिएको हो । 

 

उद्धारपछि उनीहरुलाई शुक्रबार रातीनै सम्बन्धित स्थानीय तहको जिम्मेवारी लगाइएको छ । सबैलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा व्यवस्थापन गर्न सम्भव नभएपछि आ आफ्नो क्षेत्रका स्थानीय तहका क्वारेन्टाइनमा राख्नेगरी जिम्मेवारी लगाउने निर्णय गरिएको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले जानकारी दिए । नेपाल प्रवेश गरेका महाकाली नगरपालिकाका ६ जनालाई महेन्द्र माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राख्ने तयारी भएको नगर प्रमुख भट्टले बताए ।


नेपाल ल्याइएका दार्चुलाका नागरिहरुलाई स्वास्थ्य जाँच गरेर सम्बन्धित स्थानिय तहमा सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिने तथा अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लामा खबर गरि क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

भारतबाट आएका सबैको स्वास्थ्य चेकजाँच गरिएको उहाको भनाइ छ । शुक्रवार भारतको विभिन्न ठाउँमा मजदुरी गर्दै आइरहेका उनीहरु भारत र नेपालमा एकै पटक लकडाउन भएपछि सिमामा आएर अलपत्र परेका थिए । 

 

Comments