मार्माका क्वारेन्टाइनमा ७५ जना, २७ जना बाटैमा

दार्चुला, चैत १५ गते :   जिल्लाको मार्मा गाउँपालिकामा सबैभन्दा बढी भारतबाट आएका ७५ जना नेपाली क्वारेन्टाइनमा राखिएका छन् । कामको शिलशिलामा भारतको विभिन्न ठाउँबाट आएका ७५ जना स्थानियलाई निगरानीमा राखिएको छ । जिल्ला सुरक्षा समिति दार्चुलाले हरेक स्थानीय तहमा अनिवार्यरुपमा क्वारेन्टाइन निर्माण गर्ने निर्देशन दिएपछि क्वारेन्टाइनको निगरानीमा रहन मार्मा गाउँपालिकामा शनिवार विहान सम्म ७५ जना पुगेका छन् । यसअघि मार्मा गाउँपालिकाको लटिनाथ मावि रस्कोटमा निर्माण गरिएको क्वारेन्टाइनमा ३० जना राखिएका छन् । उनीहरु केही दिन अगाडी भारतका विभिन्न ठाउँबाट ज्यालामजदुरी गरी गाउँ फर्केका थिए ।

यसैगरी शुक्रवार बेलुकी भारतको धारचुलामा अलपत्र परेका मार्मा गाउँपालिकाका ७२ जनालाई उद्धार गरिएको थियो । उद्धार गरिएका ७२ जनामध्ये ४५ जना मात्रै क्वारेन्टाइन पुगेको स्थानिय दिनेश बहादुर सिंहले दार्चुला एफएमलाई जानकारी दिए । उहाका अनुसार मार्मा गाउँपालिकाका ७२ जना मध्ये ४५ जना मात्रै पुगेको तथा अन्य २७ जना बाटैमा रहेका छन् ।

भारतबाट आउने नेपालीहरुको संख्या मार्मा गाउँपालिकामा धेरै रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक चक्र सिंह धामीले जानकारी दिनु भयो । बाहिरबाट आएकाहरुलाई सुरक्षित राख्न आवश्यकता अनुसार गाउँपालिकाले क्वारेन्टाइन बनाइरहेको उहाको भनाइ छ । क्वारेन्टाइनमा रहेकाहरुलाई विशेष निगरानी गरिएको र अहिलेसम्म कुनै किसिमको समस्या कसैमा पनि नदेखिएको स्वास्थ्य संयोजक धामीले बताए ।

Comments