​दार्चुलाका सिडिओ यदुनाथ पौडेलको ७ महिनामै सरुवा

दार्चुला जेठ १९ गते : दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको ७ महिनामै सरुवा भएको छ । गत कार्तिक १८ गते गुल्मीबाट दार्चुलाको सिडिओमा आउनु भएका पौडेलको ७ महिनामै सरुवा भएको हो । गृह मन्त्रालयले सोमबार सरुवा गरेका ४४ जना प्रमुख जिल्ला अधिकारी मध्ये पौडेलको पनि सरुवा भएको हो । प्रमुख जिल्ला अधिकारी पौडेलको धनुषा जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
   दार्चुला जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयले डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यागमन विभाग कालिका स्थानमा, बझाङका प्रमख जिल्ला अधिकारी उमेश पाण्डेयको झापामा, इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख हिरालाल चौधरीको कैलालीको सहायक प्रमुख जिल्ला अधिकारीमा, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको ईलाका प्रशासन कार्यालय तुल्सीपुर दाङमा सरुवा गराएको छ । 
   उनिहरुको स्थान डोटीमा उदयपुरबाट भीमप्रशाद भट्टराई, बझाङमा सिराहाबाट कमलराज भण्डारी, टीकापुरमा ईलाका प्रशासन कार्यालयमा चन्द्रौटाबाट शंकरवहादुर विष्टलाई खटाईएको छ । बैतडीमा भने यसअघि नै प्रमुख जिल्ला अधिकारीमा मोहन जोशीलाई खटाई सकिएको छ । 

Comments