ब्याँस गाउँपालिकाले गत वर्ष खरिद गरेका गहुँ चुट्ने थ्रेसर प्रयोग विहिन

दार्चुला जेठ २० गते : जिल्लाको ब्याँस गाउँपालिकाले गत आर्थिक वर्ष २०७५÷०७६ मा खरिद गरेका गहुँ चुट्ने थ्रेसर मेसिन प्रयोग विहिन भएका छन् । किसानको कार्यबोझ घटाउन तथा समयको बचत गर्न खरिद गरिएका ५ वटा गहुँ चुट्ने थ्रेसर मेसिन मध्ये तिन वटा मेसिन प्रयोग विहिन अवस्थामा छन् । 

   गाउँपालिकाको कृषि शाखाले गत आर्थिक वर्षमा खरिद गरेर ल्याएका मेसिनहरु अहिले केहि सडकमै प्रयोग विहिन अवस्थामा थन्किएका छन्, भने केहि मेसिनका पाठपुर्जाहरुमा खिया लागी सकेको छ । कृषिमा यान्त्रीकरण गर्ने कार्यक्रम अन्र्तगत खरिद गरिएका थ्रेसर विगत एक वर्ष देखि प्रयोग विहिन अवस्थामा छन् । 
   गाउँपालिकाको कृषि शाखाले १ लाख ७० हजार देखी २ लाख सम्म पर्ने थ्रेसर मेसिन खरिद गरी सडकमै बेबारिसे अवस्थामा छोडेको प्रष्ट देखिन्छ । गाउँपालिकाको वडा नम्बर ४ सुन्सेरामा गत वर्ष खरिद गरी ल्याइएको थ्रेसर मेसिन सडकमा प्रयोग विहिन अवस्थामा छ । यस्तै सिना, हुती र धौलाकोटका कृषकका लागी खरिद गरिएका थ्रेसर मेसिन समेत प्रयोग विहिन अवस्थामै छन् । 
   गत आर्थिक वर्षमा गहुँ चुट्ने थ्रेसर मेसिन, मकै र कोदो छोडाउने मेसिन खरिदका लागी कृषि शाखाले रु १७ लाखको टेण्डर आह्वान गरेको ठेकेदार सुकुन्दर सिंह बुढाथोकीले जानकारी दिनुभयो । ५ वटा थे्रसर मेसिन मध्ये राप्ला र दुम्लिङ्गमा वितरण गरिएका मेसिनहरु संचालनमा रहेको कृषि शाखा संयोजक विशेश्वर प्रसाद बडूले जानकारी दिनुभयो । 
   प्रयोग विहिन अवस्थामा रहेका थ्रेसर बारे बुझ्दा मेसिन चलाउन आवश्यक पर्ने बेल्ड र पुली ठेकेदारले नपुर्याएको बताउनुभयो । कृषकको सहजताका लागी ५० प्रतिशत अनुदानमा गत वर्ष खरिद गरिएका मेसिनहरु प्रयोग विहिन बने पछि सुन्सेराका स्थानिय पदमराज भट्ट आफ्नो फेसबुकमा लेख्नु हुन्छ, ब्याँस गाउँपालिकाको केन्द्र सुन्सेरामा रहेको मेसिन किसानहरुले बाली भित्र्याई सके, यो भने घाम ताप्दै र पानीमा भिज्दै आफ्ना पुर्जाहरु जङ लगाउन बिबस छ ।
   गाउँपालिकाले लाखौ रुपैया खर्च गरी खरिद गरेका माल समानको ख्यालै नगरी बेबारिसे बनाउदै जाने हो भने नत कृषक लाभान्वित हुन्छन्, नत पैसाको नै सदुपयोग हुन्छ, त्यसैले गाउँपालिकाले समयमै ध्यान दिन जरुरी छ ।   

 

Comments