क्वारेन्टाइन स्थापना देखी संचालन सम्म ब्याँस गाउँपालिकाको ५१ लाख बढी खर्च


दार्चुला जेठ २१ गते : जिल्लाको ब्याँस गाउँपालिकाले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागी संचालन गरेका विभिन्न क्रियाकलापमा अढाई महिनामा मात्रै ५१ लाख रुपैया खर्च भएको जनाएको छ । गत चैत्र ११ गते देखी सरकारले गरेको लकडाउन देखी हाल सम्म गाउँपालिकाले क्वारेन्टाइन स्थापना देखी संचालन व्यवस्थापन र काठमाण्डौँ, धनगढी, महेन्द्रनगरबाट गाउँपालिकाबासीलाई ओसार्नमा ५१ लाख ३५ हजार खर्च भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझाले जानकारी दिनुभयो । 
    ओझाका अनुसार लकडाउनको समयमा गाउँपालिकाले छनौट गरेका घरधुरीहरुलाई राहत वितरणमा ३६ लाख ३५ हजार खर्च भएको छ । यस्तै गाउँपालिकाले क्वारेन्टाइन स्थापना, व्यवस्थापन, संचालन र काठमाण्डौँ, धनगढी, महेन्द्रनगरबाट मानिस ओसार्नमा १५ लाख रुपैया खर्च गरेको हो । गाउँपालिकाले हाल सम्म विभिन्न स्थानमा गरी १० वटा अस्थायी क्वारेन्टाइन स्थापना गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझाले जानकारी दिनुभयो । 
   गाउँपालिकाले पहिलो चरणमा १ हजार ८२ परिवार र दोस्रो चरणमा ९ सय २० परिवारलाई राहत वितरण गरेको उहाले जानकारी दिनुभयो । गाउँपालिकाले बिकासे बजेटबाट कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागी खर्च गरेको उहाले बताउनुभयो । गाउँपालिकाको युवा स्वरोजगार र लघु उद्यम सिर्जना कार्यक्रम अन्तर्गतको बजेट रकमान्तर गरेर खर्च गरेको उहाको भनाई छ । गाउँपालिकाले स्थापना गरेका क्वारेन्टाइनहरुमा हाल सम्म २ सय ५८ जना बसेका छन् । गाउँपालिकाले मास्क निर्माणमा ११ जना, क्वारेन्टाइन व्यवस्थापनमा १६ जना र राहत वितरणमा २१ जना नयाँ भर्ना गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत ओझाले बताउनुभयो । 

Comments