प्रधानमन्त्रीमा आधा-आधा कार्यकालको सहमति छाड्नु गल्ती भएको दाहालको भनाइ

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौता छाडेर गल्ती गरेको बताएका छन् । बुधबारबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले आधा-आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति छाड्नु गल्ती भएको बताएका हुन् । दाहालको भनाई थियो, ‘अब हाम्रा अगाडि दुई बाटो छन् । पार्टी र सरकार संकटमा छ । एउटा, संघर्ष गरेर फुटको बाटो । कुनै पनि हालतमा त्यो बाटो जानु हुँदैन, एकता गरेर जानुपर्छ । त्यो नै उत्तम बाटो हो । त्यसको निम्ति हामी त्याग गर्न तयार हुनुपर्छ । हामी को कोले त्याग गर्दा हुन्छ त्यसमा तयार हुनुपर्‍यो ।’ केही समय अगाडि दाहाल लगायतका नेताले सचिवालय बैठकमै प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।बैठकमा अध्यक्ष दाहालले घुमारो पाराले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छाड्न ओलीसमक्ष प्रस्ताव गरेका छन् ।

‘मैले पहिला पार्टी एकता हुँदाको सम्झौता छाडेर पार्टीको हकमा जे लाभ हुन्छ भनिएको थियो त्यो भएन । त्यो गल्ती गरिएछ भन्ने महशुस भएको छ,’ दाहालको भनाई उद्धृत गर्दै एक नेताले भने । पार्टी एकता हुनुभन्दा एक दिन अगाडि अर्थात ०७५ जेठ २ गते ६ बुँदे सहमतिमा समानता र समान अवधिका आधारमा आबश्यकताअनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने विषय पनि थियो । ०७६ मंसिर ४ गतेको सचिवालय बैठकले दाहाललाई कार्यकारी अध्यक्ष दिने र ओलीले पाँच बर्ष सरकार चलाउने सहमति गरेको थियो । तर, दाहालले कार्यकारी भूमिका नपाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

विदेशी शक्ति र देश भित्रैका शक्तिहरु पार्टी र सरकार भत्काउन लागेका छन् भन्ने प्रधानमन्त्रीको भनाईलाई खण्डन गर्दै दाहालले भनेका छन्, ‘पार्टी र सरकार कमजोर हुनुमा बाहिरी वा देश भित्रेका प्रतिक्रियावादीलाई दोष दिएर हुँदैन । पार्टी र सरकारमा जे समस्या आएको त्यसको जिम्मेवार हाम्रो पार्टीभित्रैका हौं,’ दाहालको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘त्यसकारण पार्टीमै छलफल हुनुपर्छ । खासगरी हामी दुवै अध्यक्षको कमजोरीका कारण समस्या आएको हो । अरुका पनि होलान् । यसलाई सुधार्नुपर्छ । आत्मालोचना गर्नुपर्छ ।’ बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । यो समाचार कान्तिपुरमा छ 

Comments