यार्सा निकासी वाफत संकलन हुने एक करोड बढी राजश्व गुम्यो

दार्चुला–साउन ११ गते : विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र संक्रमणको त्रासले सरकारले गरेको लकडाउनका कारण दार्चुलामा यार्सागुम्बा संकलन नहुँदा यार्सागुम्बा निकासीबाट सरकारलाई प्राप्त हुने ठुलो राजश्व रकम गुमेको छ । विगतका वर्षहरुमा जेठ महिनाको अन्तिम साता यार्सागुम्बा पाइने वनहरु संकलनका लागी खुल्ने गरेकोमा यसवर्ष भने वन बन्द हुने समय सम्म पनि यार्सागुम्बा पाईने पाटनहरु खुल्न सकेका छैनन् ।

   संकट व्यवस्थापन केन्द्र दार्चुलाले यार्सागुम्बा पाइने पाटनहरुमा संकलकहरुको बढी भिडभाड हुने भन्दै कोरोना संक्रमणलाई न्युनिकरण गर्न यसवर्ष वनहरु बन्द गर्ने तथा संकलन कार्यलाई पुर्णरुपमा रोक लगाउने यसअघि नै निर्णय गरेको थियो  । यार्सागुम्बा संकलन हुन नसक्दा सरकारलाई यार्सागुम्बा संकलन र निकासी वाफत प्राप्त हुने ठुलो रकम गुमेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सुचना अधिकारी सन्तबहादुर मगरले जानकारी दिनुभयो ।

   गत वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई विभागबाट ४ सय ४५ किलोग्राम संकलन तथा निकासीका लागी अनुमति प्राप्त भएको उहाले बताउनुभयो । विभागबाट प्राप्त अनुमतिका आधारमा जिल्लाबाट गत आर्थिक वर्षमा ४ सय ४५ किलोग्राम यार्सागुम्बा बाहिरी जिल्ला निकासी भएको थियो । यार्सागुम्बा निकासी वाफत सरकारलाई गत आवमा १ करोड २८ लाख ५० हजार राजश्व प्राप्त भएको सुचना अधिकारी मगरले जानकारी दिनुभयो । यति मात्रै नभएर यार्सागुम्बा संकलन गरी जिविका चलाउने याहाका अधिकांस स्थानिय समस्यामा परेका छन् ।

   यार्सागुम्बा संकलन गरी वर्षभरी गुजरा चलाउनेहरुलाई निकै मर्का परेको हो । जिल्लाको मार्मा, अपिहिमाल, ब्याँस र नौगाड गाउँपालिकाका अधिकांस स्थानियहरु यार्सा सङ्कलन गर्न जाने गरेका छन् । अपिनाम्पा संरक्षण क्षेत्र अन्र्तगतका वनहरु अपी, नाम्पा, दुधिवन, लोलु रोखापु, क्षत्ति, धरमघर, चाइमटेला लगायतका क्षेत्रमा बहुमुल्य जडिबुटी यार्सागुम्बा पाइने गरेको छ । 

 

 

Comments