​पोली हाउस तर्फ कृषकको आकर्षण बढ्दै

दार्चुला–साउन ११ गते ः पछिल्लो समय दार्चुलाका अधिकांश कृषकहरु पोली हाउसमा विभिन्न मौसमी तथा वेमौसमी तरकारी लगाइरहेका छन् । उत्पादनको हिसाबले खुल्ला रुपमा लगाएको तरकारी भन्दा पोली हाउस भित्र लगाएको तरकारीले बढी उत्पादन दिन थाले पछि कृषकहरुको पोली हाउस तर्फ आकर्षण बढेको हो । पोली हाउस भित्र लगाइएका तरकारीहरुको सामान्य भन्दा उत्पादन बढी हुने, बेमौसमी तरकारीहरु फलाउन सकिने, आधुनिक प्रविधि युक्त, सिचाई गर्न सजिलो हुने भएकाले पनि कृषकहरुले पोली हाउसमा तरकारी खेती गर्न रुचाएको कृषि प्राबिधिकहरुले बताएका छन् । पोली हाउस भित्र उत्पादन राम्रो भएको देख्दा कृषकहरुको रुचि त्यसतर्फ बढेको बताइएको छ । 
   विगतका वर्षहरुमा पहल कार्यक्रम जिल्लाका साविकाका गाविसहरु भगवती, मालिकार्जुन, रिठाचौपता, बोहोरीगाउँ तथा खरकडा गाविसमा पोली हाउस तथा प्राविधिक ज्ञान दिएपछि कृषकको रुचि त्यस तर्फ बढेको पाइन्छ । कृषकहरुले अहिले पोली हाउसमा विषेश गरी गोलभेडा खेती गरिरहेका छन् । उतिबेला पहल कार्यक्रमले खाद्य असुरक्षित साविकका गाविसहरुमा कृषि क्षेत्र सुधार, कृषि बजार प्रवद्र्धन, पोषण तथा सरसफाई, विपद् जोखिम व्यवस्थापन, प्राकृतिक श्रोत व्यवस्थापन, वैकल्पिक जिविकोपार्जन, बित्तीय सेवा लगायतका क्षेत्रमा काम गरेको थियो । 

Comments