मैखोली पहिरो : ३ घर पूर्ण क्षति, आधा दर्जन बढी घर जोखिममा, ४४ पशुचौपाया मरे

दार्चुला, साउन १७ गते :   वर्षा संगै आएको पहिरोले महाकाली नगरपालिका २ मैखोलीमा तीन घर पुरिएका छन भने आधा दर्जन घर जोखिममा परेका छन् । शनिवार विहानको समयमा घर माथिबाट आएको पहिरोले स्थानियका ४४ पशुचौपाया मरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

विहानको समयमा आएको पहिरोले स्थानिय मनिराम भूल, परे भूल र ललितराम पार्कीको घर पूर्ण रुपमा क्षति गरेको छ । पहिरोले मनिराम भूल, परे भूल र काले भूलको संयुक्त रुपमा रहेको घर बगाएको छ । उनका ८ गाई, २ गोरु, ३ बाख्रा पहिरोमा पुरिएका छन् । 

विहानको समयमा आएको पहिरोले सोही ठाउँका ललित राम पार्कीको दुई तले घर बगाएको छ । उनका २ गाई, २ बाख्रा र ३ खराया बेपत्ता छन् । स्थानिय कालु सिंह भूलका २ गाई, २ गोरु, ३ बाख्रा र २ कुखुरा बेपत्ता भएका छन् भने १ बाख्रा र १ गाइको बाच्छी सकुुसल उद्धार गरिएको छ । पहिरोको जोखिममा आधा दर्जन घर परेका छन् । स्थानिय मानमति पार्की, हरक सिंह साहू, पारस साहू, अमिरा पार्की, रुकुम राम पार्की र गगन पार्कीको घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै शेरेराम पार्कीका ५ गाई २ बाख्रा र ४ खराया, मनिराम भूलका २ गाई २ गोरु ५ बाख्रा र ४ कुखुरा, परे भूलको १ गाई ३ बाख्रा पनि पहिरोमा पुरिएका छन् । मानमति पार्कीका १ गाई र १ बाच्छी, हरक साहूका १ भैसी १ गाई र २ बाख्राको सकुशल उद्धार गरिएको उनले बताए ।

सोही ठाउँका पारस साहूको ३ गाई, २ गोरु र ३ बाख्रालाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ । स्थानियहरुलाई दुर्गा लटिनाथ आवि मैखोलीमा सारिएको छ । अहिले वेपत्ता पशुचौपायाको खोजी कार्य भइरहेको जनाइएको छ । 

Comments