​आयुर्वेदबाट एक वर्षमा १४ हजार ९ सय २९ जनाले सेवा लिए

दार्चुला, असाेज १९ गते : दार्चुला जिल्लाका १४ हजार ९ सय २९ जनाले विभिन्न आयुर्वेद स्वास्थ्य केन्द्रहरुबाट गत आर्थिक वर्ष २०७६÷०७७ मा विभिन्न प्रकारका सेवा लिएका छन् । जिल्लाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा रहेका आयुर्वेद औषधालयहरुबाट उक्त संख्यामा सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका कविराज निरीक्षक लोकेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा उकु आयुर्वेद औषधालय शंकरपुर पस्तीबाट ७ सय ७७ जना महिला र २ हजार ३ जना पुरुष गरी २ हजार ७ सय ८० जनाले सेवा लिएको औषधालयका वरिष्ठ वैद्य दिवाकर जोशीले बताउनुभयो ।

   यसैगरी गोकुलेश्वर आयुर्वेद औषधालयबाट ४ हजार ३ सय १२ जनाले कार्यालयबाट उपलब्ध हुने सेवा लिएका छन, भने ५ सय ४८ जनाले ओपिडि सेवा लिएको कार्यालय प्रमुख शियाराम शाहले जानकारी दिनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट गत आर्थिक वर्षमा ५ हजार ९२ जनाले बहिरंग, १ सय १९ जनाले स्तनपायी, जेष्ठ नागरिक ४ सय ३८ जनाले सेवा लिएको कविराज निरीक्षक लोकेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । यस्तै १ हजार १ सय ४ जनाले पुर्वकर्म, २ सय ७३ जनाले गाउँघर क्लिनिक र कोरोना भाईरस संक्रमण फैलिन नदिन जिल्ला बाहिर तथा देश बाहिरबाट आइ क्वारेन्टिनमा बसेका २ सय ७३ जना गरी जम्मा ७ हजार २ सय ८९ जनालाई सेवा दिएको उहाको भनाई छ ।

   सेवाग्राहीहरुलाई विभिन्न आयुर्वेद औषधालयहरुबाट गत आवमा ज्वरो, वासविकार, अम्लपित्त, अतिसार, उदर रोग, प्रमेह, कामला, पाण्डु रोग, हृदय रोग, रक्तचाप, शोथ र कृमि लगायतका रोगहरुको उपचार तथा सेवा दिएको सम्बन्धित औषधालयका प्रमुखहरुले बताएका छन् ।  संविधानमै प्रत्येक नागरीकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गराउने उदेश्यले आधारभुत स्वास्थ्य सेवालाई सशक्त बनाउनका लागि आधुनिक चिकित्सा पद्घतीसंगै परम्परागत चिकित्सा पद्घतीको परिचालन गरिएको कविराज निरीक्षक जोशीले बताउनुभयो । पछिल्लो समय स्थनीय स्तरमा आयुर्वेदीक औषधी र उपचार पद्धतीको प्रचार प्रसार हुदै गएको तथा स्थानियको आकर्षण बढ्दै गइरहेको पाइएको उहाले बताउनुभयो । आयुर्वेदिक औषधीहरु स्वस्थ जिवनशैलीका लागि अति प्रभावकारी बन्दै गएको समेत उहाको भनाई छ । 

Comments