​आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक समीक्षा सम्पन्न

 दार्चुला, असाेज १९ गते : आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको वार्षिक समीक्षा कार्यक्रम जिल्लाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको आयोजनामा गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक वर्षमा उकु आयुर्वेद औषधालय मालिकार्जुन, गोकुलेश्वर आयुर्वेद औषधालय गोकुलेश्वर र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले गरेका कार्यहरुको बारेमा समीक्षा गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका कविराज निरीक्षक लोकेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

   समीक्षा कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका कविराज निरीक्षक जोशीको अध्यक्षता तथा शैल्यशिखर नगरपालिकाका उपप्रमुख राजमती बम पालको प्रमुख आतिथ्यतता र सोही नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टको विशिष्ट आतिथ्यततामा भएको सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शैल्यशिखर नगरपालिकाका उप प्रमुख राजमती बम पालले आफू आयुर्वेदिक औषधी प्रयोगकर्ता भएको तथा विना असर रोगहरु ठिक भइरहेको प्रतिक्रिया दिनुभयो । पहिले गाउँघरमा आफ्नो बाजेले आयुर्वेदिक औषधालय खोल्नको लागी पहल गरेको तथा त्यति बेला देखि नै आयुर्वेदिक औषधी प्रतिको विस्वास बढ्दै गएको उहाको भनाई थियो ।

   यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले परम्परागत उपचार पद्धतीलाई नै आत्मसाथ गर्दै सुरु गरिएको आयुर्वेदीक औषधी र उपचार सबैकोे जिवनशैली संग जोडिएको बताउनुभयो । हाम्रै वन जंगलमा उपलब्ध आयुर्वेदिक औषधीलाई पहिचान गरि सेवग्राही माझ पुर्याउनु पर्नेमा उहाले जोड दिनुभयो ।

   कार्यक्रममा आयुर्वेद औषधालय शंकरपुर पस्तीका वरिष्ठ वैद्य दिवाकर जोशी, गोकुलेश्वर आयुर्वेद औषधालयका प्रमुख शियाराम शाह, लेकम गाउँपालिकाका प्रतिनिधि, गोकुलेश्वर क्याम्पसका प्रमुख प्रदिप कुमार जोशी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम गोकुलेश्वर क्याम्पसको हलमा भएको हो ।

Comments