​चाडपर्व सुरक्षा योजना सार्वजनिक जिल्ला भरी ३ सय २२ जना प्रहरी परिचालन हुने

दार्चुला, असोज २५ गते : जिल्ला प्रहरी कार्यालयले नेपालीहरुको महान चाड विजया दशमी, दिपावली र छठ पर्व विषेश सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक पदमबहादुर बिष्टले चाड पर्व सुरक्षा योजना सार्वजनिक गर्नु भएको हो ।  चाड पर्वका बेला बाहिरबाट गाउँघर तिर आउनेको दर उच्च रहने हुँदा मानिसहरूको आवत जावतका कारण यात्रामा उत्पन्न हुने बढ्दो सवारी चापले दुर्घटनाहरू निम्त्याई ठूलो संख्यामा धनजनको क्षती भएका भएका घट्नाहरु प्रसस्त रहेको भन्दै सवारी दुर्घटना न्युनिकरण तथा चोरी डकैती, लुटापाट, झै–झगडा, जुवातास, सामाजिक विकृति विसंगतीलाई निरुत्साहित गर्न जिल्ला भरी ३ सय २२ जना प्रहरी परिचालन गरिने प्रहरी नायव उपरिक्षक बिष्टले बताउनुभयो ।
   विश्व महमारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ समुदाय स्तरमा थप फैलन नदिन समेत प्रहरीले विषेश कदम चाल्ने उहाको भनाई छ । यसै गरि भन्सार चोरी, तस्करी, भुईचम्पा, पटाका लगायतका विष्कोटक पदार्थहरुको प्रयोग, महिला एवं बालबालिका माथि हुने दुव्र्यवहार, यौनजन्य हिंसा, कालो बजारी लगायतका विविध अपराधिक गतिविधिहरुलाई नियन्त्रण गर्न प्रहरी सक्रिय हुने उहाले बताउनुभयो । चाडपर्वका बेला हुन सक्ने चोरी तस्करी तथा जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकका प्रहरीहरुलाई सुचना संकलन गर्न र नियन्त्रण गर्न खटाइने योजना रहेको प्रहरी नायव उपरिक्षक बिष्टले बताउनुभयो । 
   सदरमुकाममा ३ जना र अन्य ठाउँमा सम्बन्धित प्रहरी ईकाईबाट आवश्यकता अनुसार सुचना र जानकारी संकलन गर्न सादा पोशाकका प्रहरी कर्मचारी परिचालय गरिने उहाले बताउनुभयो । ‘बैंक तथा वित्तिय संस्था र सुन चाँदीको कारोबार हुने स्थानहरुमा विशेष गस्ती बढाईने योजना छ, उहाले भन्नुभयो ।’ सडक दुर्घटना न्यूनिकरणका लागि २६ जना प्रहरी कर्मचारीहरू विभिन्न स्थानहरूमा खटिने तथा २ ठाउँमा हेल्प डेस्क स्थापना गरिएको उहाले बताउनुभयो । 

Comments