१ हजार २ सय ३८ लिटर अवैध घरेलु मदिरा नष्ट

दार्चुला, असोज २५ गते :   जिल्ला प्रहरी कार्यालय दार्चुलाले चालु आर्थिक वर्षमा १ हजार २ सय ३८ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले बढाएको सक्रियतासँगै पछिल्लो तीन महिनाको अवधिमा मात्रै उक्त मदिरा र कच्चा पदार्थ बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए ।

उहाका अनुसार २ सय ६० लिटर घरेलु मदिरा तथा ९ सय ४४ लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले १२ लिटर, ईलाका प्रहरी कार्यालय हुतीले ३० लिटर, प्रहरी चौकी सिप्टीले २ सय १८ लिटर मदिरा र ५ सय ४४ लिटर कच्चा पदार्थ र ईलाका प्रहरी कार्यालय लटिनाथले ४ सय लिटर अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको हो । यस्तै जिल्लाका विभिन्न प्रहरी युनिटहरुबाट बरामद गरिएको ब्रान्डेड मदिरा कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई बुझाइने गरेको छ । आइतवार मात्रै जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनप्रतिनिधि तथा पत्रकारको रहोबरमा ४८ लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

घरेलु मदिराका कारण समाजमा विभिन्न खालका घटना हुन थालेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरिएको उहाले बताए । ‘घरेलु मदिराकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति हुन थाले’, प्रहरी नायब उपरीक्षक विष्टले भने, ‘घरेलु मदिरा नियन्त्रण गर्दा मात्रै पनि केही अपराधमा कमी आउँछ ।’

यस्तै प्रहरीले जिल्लामा गाँजाका बोट फडानीसमेत शुरु गरेको छ । हाल सम्म प्रहरीले ९ सय बोट गाँजाका नष्ट गरेको प्रहरी नायव उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए । उहाका अनुसार ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले ४ सय बोट, प्रहरी चौकी खण्डेश्वरीले ३ सय र जिल्ला प्रहरी कार्यालय दार्चुलाले २ सय अबैध गाँजाका बोट नष्ट गरेको हो ।

Comments