​खाद्यान्न ढुवानी गर्ने ट्रकहरु खाली नपठाउनुस : कृषि मन्त्रि चौधरी

दार्चुला, असोज २६ गते : कैलाली, कञ्चनपुर तथा अन्य ठाउँबाट दार्चुला जिल्लामा खाद्यान्न ढुवानी गर्ने ट्रकहरुलाई खाली खाली नपठाउन सुदुरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता देवी चौधरीले जिल्लाका जनप्रतिनिधि तथा कृषकहरुलाई आग्रह गर्नु भएको छ । कृषि ज्ञान केन्द्र दार्चुलाका आयोजनामा सदरमुकाम खलंगामा आज आयोजित स्थानिय तहका जनप्रतिनिधिहरु संग समन्वय बैठकमा बोल्दै जिल्लामा उत्पादन हुने कृषि जन्यबस्तु तथा आयआर्जन हुने अन्य सामग्रीहरु भरेर मात्रै ट्रकहरुलाई बाहिर पठाउन स्थानिय तहका प्रमुख र कृषकहरुलाई मन्त्री चौधरीले आग्रह गर्नु भएको हो । 
   कृषि क्षेत्रमा लगानी गरी उत्पादनलाई बाहिरी जिल्लाहरुमा निर्यात गर्न सके मात्रै समृद्धी आउने उहाको भनाई थियो । संघ, प्रदेश र स्थानिय तहले समन्वय गरी कृषि क्षेत्रमा लगानी गर्नु पर्ने तथा प्रतिफललाई बजारीकरण गरी आर्थिक लाभ लिनु पर्नेमा उहाले जोड दिनुभयो । खाद्यान्न बोकेर आउने ट्रकहरुमा याहाको कृषि उत्पादनलाई बाहिरी जिल्लाहरुमा निर्यात गर्न सकेमा मात्रै जिल्लाको समृद्धी हुने उहाले बताउनुभयो । 
   प्रदेश सरकार स्थानिय तहहरु संग समन्वय गरेर अगाडी बढ्न अथक प्रयास गरिरहेको भन्दै उहाले सुरु जिल्लामा उत्पादन हुने स्याँउ, ओखर, दाल, तरकारी लगायतका फलफूलहरु बाहिरी जिल्ला निर्यात गरेर देखाउन समेत स्थानिय तहका प्रमुखहरुलाई मन्त्रि चौधरीले आग्रह गर्नु भएको छ । जनप्रतिनिधिले जनताका अथाहा इच्छा र आकांक्षाहरु परीपुर्ती गर्नु पर्ने चुनौती रहेको भन्दै उत्पादन र जनतामुखी कार्यक्रम ल्याउन समेत उहाले आग्रह गर्नु भएको छ । संघियता आए देखी देशमा भएका विकास निर्माण र परिवर्तनको मुल्याङ्कन गर्नु अहिलेको आवश्यकता रहेको मन्त्री चौधरीको भनाई थियो । सुखी नेपाली समृद्ध नेपाल बनाउन सबै तहका सरकारको समन्वय र सहकार्य आवश्यक रहेको उहाले बताउनुभयो ।
   कार्यक्रममा प्रदेशसभा उपसभामुख निर्मला बडाल जोशीले संविधानले स्थानिय तहलाई सम्पुर्ण अधिकार दिएको भन्दै समृद्ध नगर र गाउँपालिका बनाउन जनप्रतिनिधि चनाखो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य गेल्बु बोहराले समृद्ध सुदुरपश्चिम बनाउन सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड दिनुभयो । शैल्यशिखर नगरपालिकाका प्रमुख अमर सिंह धामीले स्थानिय तह र प्रदेश सरकार बिच समन्वय नहुँदा सम्म विकास सम्भव नभएको बताउनुभयो । 
   यस्तै दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले प्रदेशका योजनाहरु निर्माण गर्दा सम्बन्धित स्थानिय तह संग समन्वय गरिनु आवश्यक रहेको बताउनु भएको छ । यस्तै नौगाड गाउँपालिकाका अध्यक्ष प्रेम सिंह धामीले उत्पादन र उत्पादकत्व संग नजोडिदा सम्म समृद्धी सम्भव नभएको धारणा व्यक्त गर्नु भएको छ । कार्यक्रममा अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले प्रदेश सरकारले कार्यकर्ता मुखी बजेट बाड्नु भन्दा सम्भाव्यता अध्ययन गर्नु पर्नेमा जोड दिनुभयो । 

Comments