​नेपाल -भारत मैत्री संघ द्धारा ब्याँस गाउँपालिकालाई एम्बुलेन्स हस्तान्त्रण

दार्चुला, असोज २८ गते : महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारत सरकारले उपहार स्वरुप नेपाल भारत मैत्री संघ दार्चुलालाई दिएको एम्बुलेन्स संघले ब्याँस गाउँपालिकालाई हस्तान्त्रण गरेको छ । बिरामी हुँदा ब्याँसका जनतालाई सेवा दिन गाउँपालिकालाई एम्बुलेन्स हस्तान्त्रण गरेको संघका केन्द्रीय सल्लाहाकार सदस्य बासुदेव ऐतवालले जानकारी दिनुभयो ।
   संघ केन्द्रिय सल्लाहकार सदस्य ऐतवाल र ब्याँस गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीको पहलमा भारतीय राजदुतावासले नेपाल–भारत मैत्री संघलाई एम्बुलेन्स उपलब्ध गराएको तथा संघले आवश्यकताका आधारमा ब्याँस गाउँपालिकालाई हस्तान्त्रण गरेको उहाले बताउनुभयो । संघका सल्लाहाकार सदस्य ऐतवालले आज एक कार्यक्रमका बिच गाउँपालिकाका उपाध्यक्ष हेमा भट्टलाई एम्बुलेन्सको साचो हस्तान्त्रण गर्नु भएको हो ।
   मैत्री संघले उपलब्ध गराएको एम्बुलेन्स कार्यविधि निर्माण गरेर संचालनमा ल्याइने गाउँपालिकाले जनाएको छ । भारत सरकारले महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा जिल्लाको महाकाली नगरपालिका, भुपु सैनिक सघ दार्चुला र नेपाल भारत मैत्री सघलाई एम्बुलेन्स सहयोग गरेको थियो ।

Comments