चित्तल तस्करी गर्ने एम्बुलेन्स चालक बोहरा ५० हजार धरौटीमा छुटे

दार्चुला फागुन १६ गते : डिलाशैनी गाउँपालिका बैतडीको एम्बेलेन्समा चित्तल तस्करी गर्ने चालक महेश बहादुर बोहरा २० दिन पछि ५० हजार धरौटीमा छुटेका छन् । चित्तल तस्करी मुद्दामा प्रहरी हिरासतमा रहेका चालक बोहरालाई ५० हजार धरौटी लिएर तारेखमा छोडेको दार्चुला जिल्ला अदालतका श्रेष्तेदार किरण सिंहले जानकारी दिनुभयो । ६ महिना कैद सजाय भएकालाई पुर्पक्षका लागी कारागार चलान नगरी धरौटी लिइ तारेखमा छोड्न मिल्ने कानुन अनुसार चालक बोहरालाई धरौटी लिएर छोडिएको उहाले बताउनुभयो ।

   चालक बोहराले संरक्षित वन्यजन्तु चित्तल तस्करी गरेको आरोपमा प्रहरीले गत माघ २६ गते गोकुलेश्वरबाट चित्तल बोक्न प्रयोग गरेको गाउँपालिकाको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेन्स सहित नियन्त्रणमा लिएको थियो । ३ वर्ष भन्दा माथी कैद भएका अभियुक्तलाई मात्रै थुना वा कारागारमा राख्ने  कानुनी व्यवस्था भएको श्रेष्तेदार सिंहले बताउनुभयो । प्रहरीले गत माघ २६ गते कञ्चनपुरको महेन्द्रनगरबाट फर्केर गाउँपालिकाको केन्द्र पंसेरा जाने क्रममा मृत चित्तल तस्करी गरिरहेको अवस्थामा चालक बोहरालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयलाई बुझाएको थियो । 

Comments