​मरेको रतुवा लैजादै गरेका ३ जना नियन्त्रणमा

दार्चुला फागुन १७ गते : दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ का ३ जनालाई अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय अन्र्तगतको खार रेञ्जपोष्टका कर्मचारीले नियन्त्रणमा लिएको छ । अपिनाम्पा संरक्षण क्षेत्र भित्र पर्ने जंगलबाट मरेको रतुवा लैजादै गरेको अवस्थामा खार रेञ्जपोष्टका कर्मचारीले नौगाड गाउँपालिका वडा नम्बर ३ का कालु सिंह बोहरा, दिपक सिंह बोहरा र राजु टमटालाई नियन्त्रणमा लिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सुचना अधिकारी सन्तबहादुर मगरले जानकारी दिनुभयो ।

   शनिबार विहान ९ बजेतिर गाउँपालिकाको वडा नम्बर २ गोधानी खोलामा मृत अवस्थामा फेला परेको रतुवालाई घिसारेर लैजादै गरेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागी खलंगा ल्याइएको उहाले बताउनुभयो । उनिहरुलाई खार रेञ्जपोष्टबाट रेञ्जर मनोज अवस्थीको नेतृत्वमा गएको टोलीले रतुवा सहित नियन्त्रणमा लिएको उहाले बताउनुभयो । रतुवा कसले मारेको हो भन्नेबारे सोधपुछ पछि मात्रै भन्न सकिने उहाले बताउनुभयो ।

   आइतबार तिनै जना माथी अनुसन्धान तथा सोधपुछ गरिने सुचना अधिकारी मगरले जानकारी दिनुभयो । मरेको रतुवा सहित तिनै जनालार्ई मुचुल्का तयार गरि खलंगा ल्याइएको उहाले बताउनुभयो । नियन्त्रणमा लिएका व्यक्ती दोषी भेट्टीए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्र्तगत कारबाही हुने उहाले जानकारी दिनुभयो । 

Comments