कुटनितिक पहल मार्फत मिचिएको कालापानी फिर्ता ल्याउछौ : मन्त्री ठगुन्ना

दार्चुला, पौष २७ गते : नेपाल–भारत कुटनितिक पहल थालेर भारतले मिचेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई फिर्ता ल्याउने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले बताउनु भएको छ । दार्चुला जिल्ला सदरमुकाम खलंगामा नेकपा (ओली) पक्ष दार्चुलाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठगुन्नाले यस्तो बताउनु भएको हो । 

भारत जस्तो शक्तिशाली देश संग वर्तमान सरकारले प्रतिबाद गर्ने साहस गरेको भन्दै पहिलो चरणमा मिचिएको नेपाली भुमीलाई समेटेर नक्सा सार्वजनिक गरेको उहाको तर्क थियो । केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारले संविधान संशोधन गरेर भारतले मिचेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको आधिकारिक नक्सामा छापेको स्मरण गराउनुभयो ।

‘भारतले मिचेको नेपाली भुमी फिर्ता ल्याउन परराष्ट्र मन्त्रालयले दुई देश बिचमा कुटनितिक पहल कदमी गरिरहेको छ, कुटनितिक पहल मार्फत भुमी फिर्ता ल्याउछौ उहाले भन्नुभयो ।’ सोही कार्यक्रममा बोल्दै उहाले दुई दशक बढी देखि बन्द अवस्थामा रहेको गोकुलेश्वर विमानस्थल निर्माणको काम यसै वर्ष देखि थालनी हुने बताए । प्राविधिकहरुको टोलीले गतवर्ष नै डिपिआर तयार पारेर राष्ट्रिय योजना आयोगमा पुर्याएको तथा विमान स्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरी बहुवर्षिय ठेक्का आह्वान गरिने उहाको भनाइ थियो । लामो समय देखि बन्द अवस्थामा रहेको विमान स्थल पुनः संचालनका लागि आफुले केन्द्रमा पहल गरेको ठोकुवा गर्नुभयो ।

अर्को प्रसंगमा बोल्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नाले नेकपा पार्टी भित्र चलिरहेको किचलोलाई लिएर निराश नहुन जनतालाई आग्रह गर्नु भएको छ । पार्टी भित्रको किचँलोकै कारण जनतामा पार्टी फुटेको सन्देश गएका बेला उहाले नेपाल कम्युनिष्ट पार्टी एउटा पार्टी मात्रै भएको विश्वास दिलाउनु भएको छ ।

दार्चुलामा पनि प्रचण्ड, माधव नेपाल र केपी ओली पक्ष आ–आफ्नो कित्तामा उभिसकेका छन् । अगुवा कार्यकर्ता भेलाका अध्यक्षता नेकपाका जिल्ला सचिव उदय सिंह बडालले गर्नु भएको थियो । नेकपाका जिल्ला अध्यक्ष गणेश खत्री (पावेल) प्रचण्ड, माधव नेपाल पक्षमा उभिएका छन् ।

 

Comments