​राप्रपा दार्चुलाले पृथ्वी जयन्ती मनायो

दार्चुला, पाैष २७ गते : राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । पार्टीले पृथ्वी जयन्ती मनाउने निर्णय गरे बमोजिम आज जिल्लामा कार्यक्रम गरेको राप्रपा दार्चुलाका प्रवक्ता अमर पुरुषले जानकारी दिनुभयो । राप्रपाले पृथ्वी जयन्ती तथा तथा राष्ट्रिय एकता दिवसको अवसरमा महाकाली नगरपालिका वडा नम्बर ४ बांगाबगडमा रहेको पृथ्वी नारायण शाहको फोटोमा माल्र्यापण गरेको छ, भने नारा जुलुस निकालेर बजार परिक्रमा गरेको उहाले बताउनुभयो ।

   बजार परिक्रमा पछि बसपार्क क्षेत्रमा कोणसभाको आयोजना गरिएको थियो । कोणसभामा राप्रपाका जिल्ला अध्यक्ष विर सिंह बडाल लगायतका नेताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए । यसैबिच बैतडीको पाटन नगरपालिकामा पनि २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । स्थानिय कृष्ण बहादुर चन्दको संयोजकत्व तथा पाटन नगरपालिकाका नगर प्रमुख केशव बहादुर चन्दको प्रमुख आतिथ्यततामा कार्यक्रम गरिएको हो । कार्यक्रममा पृथ्वी नारायण शाहको नितिलाई अनुसरण गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाएको संयोजक कृष्ण बहदाुर चन्दले जानकारी दिनुभयो ।

   गोर्खाली राजा नरभुपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई  राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् । 

Comments