विप्लव बन्दको दिन दार्चुलामा ट्रकमा आगजनी

दार्चुला, माघ १० गते :   दार्चुलामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बन्द घोषणा गरेको दिन ट्रकमा आगजनी भएको छ । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम तर्फ आइरहेको सुप्रप ००१ क १५४८ नम्बरको मालबाहक ट्रकमा शनिवार दिउँसो ३ बजेतिर शैल्यशिखर नगरपालिका—९ नक्तड (ठूलसैन) जंगल नजिक आगजनी भएको हो । 
आगजनीबाट बसको अगाडीको भाग र टायरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुस्कर ऐेरीले जानकारी दिए । आगलागी कसले र कसरी भयो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरी जनाएको छ । 
ट्रक साहु बैतडीको डिलासैनी गाउँपालिका—५ का देवराज पन्त र चालक मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का श्याम पाललाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी निरीक्षक ऐरीले बताए । 

विप्लव बन्दको प्रभावले शनिवार दिनभर जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका थिएनन् भने बेलुकी साढे ४ बजेतिर महाकाली यातायातको बस महेन्द्रनगरका लागि छुटेको महाकाली यातायात बस व्यवसाय समितिका बुकिङ कलर्क लबदेब अवस्थीले जानकारी दिए । सरकारकाद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आज बन्द घोषणा गरेको थियो ।

 

Comments