दार्चुलामा ५ हजार ८ सय ७८ मतदाता थपिए

दार्चुला, माघ ११ गते : दार्चुला जिल्लामा ५ हजार ८ सय ७८ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको मध्यावधिक निर्वाचनमा भाग लिने मतदाताहरुको संख्या ५ हजार ८ सय ७८ पुगेको हो । २०७४ सालमा भएको निर्वाचनमा ७८ हजार ५ सय १३ मतदाताले मतदान गरेकोमा अगामी वैशाखमा हुने प्रतिनिधिसभाको मध्यावधिक निर्वाचनमा ८४ हजार ३ सय ९१ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी प्रदीप सिंह धामीले जानकारी दिए ।

कार्यालयले आइतवार मतदाता नामावली अद्यावधिक कार्यक्रम, २०७७ सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा आफ्ना गतिविधिबारे जानकारी समेत दिएको छ । प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिए संगै जिल्लामा निर्वाचनको तयारी स्वरुप विभिन्न गतिविधिहरु बढाईएको उनले बताए । निर्वाचनको तयारी स्वरुप निर्वाचन अयोगले गरेको निर्देशन अनुसार आइतवार नै जिल्लाका नौ वटै स्थानीय तहहरुमा खटिने सहायक नाम दर्ता अधिकारीहरुलाई अभिमुखीकरण गरिएको छ । 

यसैअन्तर्गत निर्वाचन आयोगले माघ १५ गतेदेखि २१ गतेसम्म स्थानीय तहका केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको छ । उक्त कार्यक्रम अन्तरगत माघ १५ गते नगरपालिका÷गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशन गरिने निर्वाचन अधिकारी धामीले जानकारी दिनुभयो ।  माघ १६ देखि १८ गते सम्म मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि सूचना दिन सकिने जनाइएको छ । कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ र १७ गते उजुरी दिन सक्ने व्यवस्था गरिएको उहाले बताए ।

आयोगले तोकेको मितिमा सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा कुनै त्रुटि भए सच्याउन, दाबी विरोध गर्न, दोहोरो नाम हटाउन र मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम हटाउन आयोगले अनुरोध गरेको छ ।

जिल्लामा आगामी निर्वाचनका लागि  ६ वटा मतदान केन्द्र थपिन सकिने जनाइएको छ । २०७४ सालको निर्वाचनमा १ सय २९ वटा मतदान केन्द्र रहेकोमा ६ वटा नयाँ मतदान केन्द्र थपिएर १ सय ३५ कायम हुन सक्ने उहाको भनाई छ । जिल्लामा १ सय १० वटा मतदान केन्द्रहरु रहेका छन् ।  

Comments